पानीभित्र आधा घण्टा

हामी कहिल्यै थाक्ने भएनौ, बुद्ध र सगरमाथाको गाथा गाएर । आफ्नै प्रवृत्तिलाई व्यङ्य गर्दै मैले केही बर्ष पहिले एउटा कविता लेखेको थिएँ । यतिखेर त्यसको कविताशं सम्भिरहेको छु । 

“कतिले झट्ट चिने
कतिले अन्कनाएर चिने 
कतिले चिन्दै चिनेनन् 
झट्ट चिन्नेहरूले 
तेरो देश गरिब भनेर चिने !
मलाई एतिखेर परदेशमा 
हिमाल बन्दगी राखेर देश चिनाउन मन लागेन !”

सगरमाथा आरोहण दिवस मनाउने क्रममा हामी सँगै रहेका संचारकर्मी साथी भिमसेन सापकोटालाई भने पोहोर साल मैले सुनाएको गजलको दुई शेर याद रहेछ । आजको कार्यक्रममा सरिक हुनेकी नहुने भन्ने दोधार हुँदा हुँदै पनि मलाई मेन्लीमा देखिपछि दंग पदै उनले मेरै गजलको शेर मलाई नै सुनाए । 

“जल्यो भन्छन् फेवा ताल, जल्न देउ न के भयो र ! 
नांगो माछापुछ्रे  सामु, बल्न देउ न के भयो र !

नचलाऊ डुंगा एकैछिन् , नहान ढुंगा पानीमा 
त्यो जोडीलाई एकान्तमा चल्न देउ न के भयो र ! ”

सगरमाथा आरोहण दिवसकै सन्दर्भमा पोहोरसाल हाम्रो यही टोली नेपाली झण्डा बोकेर अष्ट्रेलियाको अग्लो हिमाल माउन्ट कोजिवस्को उक्लिने क्रममा मैले यो गजल सुनाएको थियो । आज हामी दश जना युवाहरू फेरि सगरमाथा आरोहण दिवस लाई स्मरण गर्दै फेरी नेपाली झण्डा बोकेर बिपरीत दिशा तर्फ जाँदै थियौँ । पोहोर साल उकालो उक्लिएको नेपाली झण्डा आज स्कुपा डाइभिङ गर्दै मेन्लीको हार्वरको पिँधमा फहरिँदै थियो ।

म भने मनमनै सोच्दै थिएँ, आशा छ भिमसेन जि ले आज पानीभित्र मास्क खोलेर मलाई भन्नेछैनन्, “निष्प्रभ जी एउटा गजल जाओस्”!

एकचोटी नेपाली भएर जन्मिए पछि, देश र राष्ट्रियतालाई हात समातेर हिँड्नु नपर्ने रहेछ । यिनीहरु त भूगोलको जुन कुनामा भएपनि घरको आगन जस्तै आँखाभरी हुँदा रहेछन् । मन भरी हुँदारहेछन् । पोहोर साल पाँचजना थियौँ, यस बर्ष दशजना साथीहरू भएछौँ । नेपालीलाई अष्ट्रेलियाको थुम्कोमा उक्लिनु कुनै गार्हो कुरा थिएन । तर स्कुबा डाइभिङ भने केही सचेत भएर गर्नु पर्ने कुरा हो ।

समुन्द्र भित्र छिर्नु भनेको हामीले अहिले सम्म नभोगेको अर्को सन्सार भित्र छिर्नु जस्तै हो । मित्र ऋषि आचार्य, सुरज जी र राम्जी बिष्ट दाई गरी हामी चार जना मेन्ली पुग्दा भिमसेन सापकोटा, सन्जीब शर्मा, बिमल केसी र राजन क्षेत्री लगायतका अन्य साथीहरु मेन्ली पुगीसकेको थिए । स्कुवा डाइभिङमा हामीलाई प्रशिक्षण दिँदै थिए क्रिस र उसको छोराले । डाइभिङका लागी निस्किनु पुर्व क्रिसले हामीलाई हाम्रो शरीरमा टाइट हुने स्कुवा हुड निकालिदियो । अनि साथीहरु एउटै कोठामा कोचिएर आ—आफ्नो रोगी शरीर देखाउन थाले । क्रिसले दोहोराइरहेको थियो, “गाइज वन्ली अन्डरवेयर”! उसले छोटकरीमै भनेर निस्कियो । कसैको भुँडी निस्कीएको, कसैको भित्र पसेको । मैले फिटनेस अवार्ड सुरज प्रधानलाई दिएँ ।

“मास्क लगाइदिने हो भने सुरजजी स्पाइडर म्यान ‘टोबी मेगुर’ जस्तै”, मेरो प्रतिक्रिया सुनेपछि सुरज जी ले मिठो मुस्कान दिए ।

बाणिज्य दुत दिपक खड्काले शुभकामना सहित हामीलाई नेपाली झण्डा हस्तान्तरण गरेपछि हामी बोट तिर लाग्यौँ । बोटले हामीलाई डाइभिङ स्पटमा लगेर बिसायो । बोटमा यात्रा गरुन्जेल सबैका आँखा बोटको छेउमा पंक्तीबद्ध मिलाएर राखिएका अक्सीजन सिलीण्डर मा परेपछि केही साथीहरुले बल्ल यो यात्रा जोखिमपूर्ण पनि भएको महशुस गर्न थाले । भर्खरै सम्म मेन्लीमा दुइजना साथी बाहेक अरु साथीहरु आँफुलाई कति पौडिन आउँछ भन्ने बखान गर्दै थिए । कोही फेवातालमा पौडिएँ भन्दै थिए, कोही काली गण्डकीमा त कोही कर्णालीमा । म भने परार साल बाइरन बे मा गरेको कयाकिङ सम्झदैँ थिए, जतिखेर म पनि पौडिनै नजान्ने जयन्तीलाई समुन्द्रभित्र होम्दै थिएँ । पानीमा पौडिनु र पानीभित्र आँफ्नै तौलबराबरको अक्सिजन सिलिण्डर बोकेर पस्नु भिन्न कुरा थिए ।

ऋषि जी ले यहीँनिर घाउमा नुन छरे । “पोहोर साल अमेरीकाबस्ने एक नेपाली युवतीले अष्ट्रेलिया आएको क्रममा एक हप्ता ट्रेनिङ गरेर स्कुवा डाइभिङ गर्दा पनि आफ्नो ज्यान गुमाउनु पर्यो ।"

केही साथीहरुले थुक निले । अर्को साथीले झन् स्टिभ इरवन लाई सम्झिए, उनी पनि पानी भित्रै स्टीङ रे ले डसेर मरेका थिए । क्रिसले अक्सिजन सिलीण्डर लाई कसरी प्रयोग गर्ने । भित्र आपतकालील बेलामा कसरी सिग्नल दिने भनेर सिकाए पछि, अब पानीमा हाम फाल्ने पालो आयो । हामी सँगै क्रिस र अर्को इन्सट्रक्टर फोटोग्राफीको लागि मात्रै तल जाँदै थिए । बस्ने क्रममा म शुरुमा रहेछु, पानीमा हाम फाल्ने पहिलो ब्यक्ति मै भएँ । अलिकति मनमा मेरो पनि चिसो पस्यो । हामफाले पछि चिसो होइन जताततै चिसो पानी पस्यो । यो आरोहण दिवस पनि किन विन्टरमा पर्नुपरेको हो । हाम फाली हालेपछि शुरुको दुइमिनेट निकै कठीन लाग्यो । मुखका कोचिएको अक्सिजन ट्युब र सिलिन्डर बोकेर पानीमा पस्ने बानी नपरेर होला । केहीसाथीहरुले पहिलो चोटीमा भित्र जान हिच्किचाए र बोटमै फर्किए तर पछि भने सबैजनाले पिँधमा झण्डा फहराएर आए । हामफाल्ने क्रममा केही साथीहरुले, एक अर्कालाई हाँसो गरेर— ल साथी जिउँदै फर्कनुस्— भन्न पनि बाँकि राखेनन् । भिमसेन जी ले सार्क पनि देखेछन् । हामीले भने भित्रको प्लान्टस् र केही साना देखि मझौला खालका माछाहरु देख्यौँ । दृश्य अद्भुत थियो । जिन्दगीमा सबैले लिनु पर्ने अनुभव ।

केही साथीहरुलाई प्रेसर इक्वलाईज गर्न गार्हो भएर नउजिया पनि भयो । बोटमा फर्किसकेपछि, सुरज जीले एउटा रमाइलो प्रसंग सुनाए । हामीलाई क्रिसले आपतकालीन सिग्नलहरुको सिकाउने क्रममा, थम्सअपको अर्थ माथि उत्रिन्छु भन्ने हो भनेर सिकाएको थियो । हामी नेपालीको बानी, सब ठिक छ, वा सहमत छु वा रमाइलो भयो भन्ने क्रममा बुढी औला ठडाउने बानी छ । सुरज जी पिँधमा पुगेपछि झण्डा फहराउने क्रममा हामी जस्तै उत्साहित भएछन् । फोटोग्राफर ले फोटो खिच्न थाले पछि, निकै उत्साहका साथ खुशी ब्यक्त गर्दै थम्स अप गर्दै बुढी औला ठड्याएछन् । क्रिसले लौ साथीलाई गार्हो भयो भनेर, एक्कासी माथी उतारिदिएछ । यो प्रसंगले हामी सबैलाइै राम्रो सँग हँसायो । किनकि मैले पनि सुरजजी ले जस्तै धन्न धन्न थम्स अप गरिसकेको थिएँ ।

फर्किने क्रममा हाम्रा प्यारा राम्जी दाईलाई अर्को कुरा खड्कि रह्यो । बोटको क्याप्टेन साहेब जो करिव पचास पचपन्नका अष्ट्रेलियन थिए, हाम्रै सामु बोटको पछाडि उभिएर मुत्र त्याग गर्दै रहेछन् । राम्जी दाईको चित्त दुखाई पनि ठिकै हो । यो नेपालीको संष्कृति कसरी सभ्य अष्ट्रेलियनभित्र सर्यो ? ठिकै छ, साथीहरुले बल्ल थाहा पाए, समुन्द्रको पानी किन यतिसार्हो नुनिलो हुँदो रै छ ! 

केही बेर पछि फ्रेस भएर हामी क्रिस सँगै बोटमा सर्कलर कि र लुना पार्क तिर लाग्यौँ । भिमसेन जी ले ओपेरा हाउसलाई पछाडि पारेर बोट बाटै एम एन टि भी को लागी छोटो अन्र्तवार्त पनि रेकर्ड गरे ।पछि कार्यक्रम बार्बेक्युमा आएर टुंगीयो । भिमसेनजीको भेजीटेरीयन बार्बेक्युले सेफ मित्र सुरज प्रधानको कला पाएपछि झन् स्वाद पायो । हातमा तातो चिया लिएर, मेन्लीबाट देखिएको सुर्यास्तको दृश्य हेर्दै गर्दाको अनुभूति स्कुवा डाइभिङ जस्तै बिशेष थियो । चिया पिउँदै जयन्तीलाई फोन गरेँ । बिहान निस्किँदा काममा जान निस्केको थिएँ । बिचमै, म समुन्द्र भित्र पसेको उसलाई थाहा थिएन । परारसाल बल्लतल्ल कयाकिङको लागि मनाएको थिएँ । स्कुवा डाइभिङ त उसलाई सुन्दा पनि डरलाग्दो कुरा हो । ठिकै भयो बल्ल थाहा दिएँ । 


(Annapurna Post, 15th April 2017, Saturday)

Comments

You may like this